
काठमाडौ, वैशाख ९ - सरकारले पूर्वराजा वीरेन्द्र र उनको विदेशमा रहेको सम्पत्ति एवं बैंक खाता खोज्न थालेको छ । सम्बद्ध मन्त्रालयहरूको समन्वयमा कार्यविधि तयार पारी सम्भावित देशहरूसँग प्रत्यक्ष सम्पर्क गरेर सम्पत्ति खोज्ने तयारी वीरेन्द्र परिवारको सम्पत्ति अधिग्रहण गरी व्यवस्थापन गर्ने जिम्मेवारी पाएको नेपाल ट्रस्टले गरेको हो ।
यसअघि परराष्ट्र मन्त्रालयको पहलबाट मात्रै विदेशमा रहेको सम्पत्ति र बैंक खाता विवरण पाउन कठिन भएपछि सम्बद्ध सरकारी निकायको समन्वयमा यो प्रयास थालिएको हो ।
ट्रस्टका प्रवक्ता टीकाराम घिमिरेले कार्यविधि बनाई छानबिन हुने बताए । स्विटजरल्यान्डका विभिन्न बैंकमा खाता भएको हल्ला छ । केहीअघि बेलायतको एक बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत पैसा पठाएको खुल्न आएको थियो । उक्त खातामा फेला पारिएको करिब ९ हजार पाउन्ड रोक्का गरिएको उनले बताए । देशभित्र भने ट्रस्टले करिब दर्जन ठाउँमा सम्पत्ति फेला पारेको छ । २७ सय ९१ रोपनीको गोकर्ण फरेस्ट रिसोर्ट भएको जग्गा, कमलादीको काठमाडौं प्लाजा, लाजिम्पाटमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको शाखा कार्यालय रहेको जग्गा, भक्तपुर कटुन्जेमा १०८ रोपनी र कालिमाटीमा ५९ रोपनी जग्गा छ । हेटौंडाको १ बिघा जग्गा र भवनको सुरक्षा नेपाली सेनाले गरिरहेकोछ । यी सम्पत्तिबाट ट्रस्टले वाषिर्क २ करोड भाडा पाइरहेको छ । यसैगरी नबिल बैंकमा ५७ हजार ३ सय ३०, नेपाल औद्योगिक विकास निगममा ६ हजार ७ सय ५० र होटल डेला अन्नपूर्णमा १५ हजार ३ सय ६० कित्ता सेयर थिए । तत्कालीन राजाको हैसियतका सम्पत्ति सरकारका अन्य निकायको अधीनमा गएको छ । नारायणहिटी दरबार, पोखराको रत्न मन्दिर, चितवनको दियालो बंगला वीरेन्द्रको नाममा थिए ।
No comments:
Post a Comment