गाउँमा सूचना केन्द्र
साजिश मिया
धिताल -कास्की, जेठ ८ - स्थानीय उत्पादनलाई बजारसम्म पहुँच पुर्याउन कास्की धिताल गाविस अस्तामबासीले ग्रामीण सूचना केन्द्र खोलेका छन् । सबै गाउँलेलाई पायक पर्ने थलोमा खोलिएको केन्द्र विज्ञापन र समाचारको केन्द्र पनि बनेको छ ।
यसै सातादेखि खोलिएको केन्द्रबाट गाउँभरी खरिद बिक्रीसम्बन्धी विज्ञापन र देश विदेशका खवर थाहा पाउन सकिन्छ । ‘गाउँमा कसैको अन्नपात वा पशु चौपाया खरिद गर्न परे पनि एक अर्काबीच थाहा पाउनै समस्या भो’ स्थानीयबासी बुद्धिप्रसाद अधिकारीले भने- ‘किन्नेलाई पनि घरैपिच्छे सोध्दै हिंड्न गाह्रो, केन्द्र खुलेपछि त सबैलाई ढुक्क ।’
केन्द्रको अवधारणा ल्याएका हुन् नेपाल ग्रामीण सूचना प्रविधि विकास समाजका संचालक सुदिप अर्यालले । उनका अनुसार स्याङजा, भक्तपुर, दाङ र कास्कीमा गरी अहिलेसम्म गाउँमा दुर्गम १२ ठाउँमा केन्द्र स्थापना भइसकेका छन् । केन्द्र खोल्न ठूलो सहयोग पनि चाहिंदैन । ‘सबै भेला हुने थलोमा एउटा ठूलो सूचना पार्टीमा यी सबै काम हुनसक्छन्’ उनले भने- ‘सुरुमा विज्ञापनबाट सुरु हुन्छ, त्यसपछि इन्टरनेट र ई-कमर्शका बारेमा पनि जानकारी गराउने लक्ष्य छ ।’
सदरमुकामबाट पश्चिम १७ किमि दूरीमा रहेको यो गाउँ रमणीय पर्यटकीय स्थलसमेत हो । तर यहाँ विकासका कुनै पूर्वाधार पुगेका छैनन् । सदरमुकामबाट नजिकै भए पनि गाउँ सूचनाविहीन जस्तो छ । केन्द्रका लागि पर्यटन व्यवसाय गरेर पोखरामा बसेका यहाँका बासिन्दाले पत्रपत्रिका पठाउन थालेका छन् ।
केन्द्र खोलेपछि देश विदेशका खबर र उत्पादनको खरिद बिक्रीको सूचना एउटै थलोबाट थाहा पाइएको छ’ स्थानीय विश्वराज अधिकारीले भने- ‘यसले गाउँको उत्पादन बजारसम्म पुर्याउन सहयोग पुगेको छ ।केन्द्र धिताल गाविस-८ मा संचालनमा छ । वडाका ६५ घरलाई लक्ष्ाित गरी केन्द्र खोलिएको भए पनि यसले पूरै गाविसलाई प्रभावित पार्छ । ‘एउटा टोलमा भएको कुरा अर्को टोलमा थाहा नहुन सक्छ, त्यसैले गाउँलेले खरिद बिक्री गर्नुपर्ने बस्तुहरूको जानकारी सूचना केन्द्रमा दिन्छन्’स्थानीयबासी बुद्धिसागर अधिकारीले भने- ‘उनीहरूले दिएको सूचनालाई टिपेर सूचना पार्टीमा लेखी सार्वजनिक गर्ने काम गरिन्छ ।’
अहिले गाउँमा कटुवाल प्रथा छैन । सार्वजनिक महत्वको कुरा, बैठक, भेला बस्नु परेमा वा चाडपर्वका बेलामा गाउँले जम्मा हुनु परे समेत सूचना केन्द्रबाट जानकारी गराइन्छ ।
केन्द्रको अवधारणालाई दुर्गम बस्तीहरूमा पुर्याउने आफूहरूको अभियान रहेको अर्यालले बताए । ‘केन्द्रको लक्ष्य गाउँमा रहेको बस्तुहरूको बिक्री वितरणका लागि विज्ञापन गर्ने हो’ उनले बताए- ‘यसले गाउँ र नगरबीचको दूरी मेटाउने साझेदारीको काम गर्छ ।’
(कान्तिपुर दैनिकमा प्रकासित)
Posted on: 2009-05-22 21:10:06
Source: www.kantipuronline.com

No comments:
Post a Comment